तिमीलाई पनि भिरिंगी लागेको छ

3 जुलाई

यो प्रतेक क्षण

यस्तरी बित्नुको औचित्य र अर्थ

खोज्दछु

जस्तरी भिरिंगी लागेको कुकुरले खोज्दछ

गल्ली-गल्ली र चोक-चोक

ऊ हुनुको स्वतन्त्रता-

 

काठमाण्डूजस्तो खप्परभित्र

आजीवन निको नहुने

अशान्ति र अराजकताको ‘ब्रेन-ट्युमर’ खाँदेर

यो क्षण यस्तरी बाँच्नुसित

कि खोजिरहेछु आफूभित्र इन्द्रेणी देश ?

 

सात समुन्द्रपारिबाट

हुण्डीमा पठाएको शान्तिको कामना

सुख र समृद्धिको कामना

खै ! के सारांश निस्क्यो ?

 

कि प्रतेक बिहान

मजस्तै ह्यांगओभरमा उठ्दछ देश

र पार्सलमा आएको चुरोट तान्छ

बुंग-बुंगती

साँघुरो कोठा विदेशी धूवाँ- उफ् रेन्टा !

 

खोक्दछ छाती चर्कुन्जेल

खोक्दछ लोकतन्त्रको लहरे खोकी

तल माथिका छिमेकीहरूले कान ठाडो पारुन्जेल,

 

मजस्तै ग्याँसटिकको रोगी

आन्द्रा पल्टिनेगरी आँखा च्यातिनेगरी

राल सिंगान हुँदै ‘वाक् वाक्’ गर्दछ

टोल थर्किनेगरी

र जुँगामा पिंग खेलिरहेको सिंगानलाई

देब्रे हातले टिपेर झट्कार्छ भुँइमा

ल्याम्मै छोराको निधारमा लाग्दछ- उफ् लेन्टा !

 

हो त मेरो देशजस्तै

म पनि यस्तरी नै सहजताका साथ

प्रतेक बिहान ह्यांगओभरमा उठ्दछु

फरक के मात्रै हो भने

अनि ऊ खबरकागज र ‘जस्मिन टी’ समातेर

सोफामा बस्दछ

म झोला बोकेर कारखानातिर दौडिन्छु !

 

यो प्रतेक क्षण यौटा मृत्यु हो

यो प्रतेक क्षण यौटा त्रास हो

यो प्रतेक क्षण यौटा अगति हो

यो प्रतेक क्षण यौटा असंगति हो !

 

किन थाहा छ ?

थाहा छैन भने 

हेर्नुस् समकालीन कविताहरू

उत्तरहरू डङ्गुर छन्

सोध्नुस् कविहरूलाई !

 

खसीको ह्याकुला, कालो दाल

र धनियाँको अचारसित

बासमती चामलको भात हसुरेर

मेरो देश नयाँ बानेश्वरतिर

मोटरमा सरर गैरहेको बेला

म प्लाष्टिकमा प्याक गरेको भातले

पेट ढाडिएर

यो गज्यांग-गुजुंग मेट्रो सहरमा

ट्वाइलेट खोजिरहेको हुन्छु !

 

यति लामो समयसम्म

नाथे यौटा संविधान लेखिन नसक्ने ठाउँभन्दा

विदेशको यो ‘ट्वाइलेट’ अच्छा हाउ !

लेंड पसारेर सन्च भए’छि

यस्तो सोचाइ आउँछ

कि पेट दुखेको बेला त

झन् येस्तो पो लाग्दछ-

हामीले हगेको प्रवासमा

पुगे हुन्थ्यो तिनीहरूको टेबुलमा

कुनै सम्झौता र सहमतिपछि

जो खान्छन् समोशा प्लेटमा

पुगे हुन्थ्यो तिहींनेर !

 

मेरो देश यतिबेला

नयाँ बानेश्वरको यमहिमभित्र छ

जहाँ लिम्बुवानको आवाजलाई

एक मुठा जुँगाले छेकेर

नयाँ नेपालको पुरानो सपना देखाइरहेछ

देशलाई त्यो बेजिंग र दिल्ली प्यारो छ

तर लिम्बुवान आफ्नै शरीरको भाग बेमतलब छ

ए ! संविधान सभाको पेटिकोट ला’को मु:जी देश

जीउमा ‘आरडिएक्स’ बाँधेर छिरुम म

तिम्रो इन्द्र-सभामा ??

 

यो प्रतेक क्षण

म मेरो देशजस्तै आतंककारी हुँदैछु

यो प्रतेक क्षण

म मेरो देशजस्तै धन्दुकारी हुँदैछु

यो प्रतेक क्षण

म मेरो देशजस्तै फटाहा र जाली हुँदैछु

यो प्रतेक क्षण

म मेरो देशजस्तै किचकिचे र असन्तोकी हुँदैछु

’cause यो प्रवासमा

नेपाली भएर बाँच्नुको मूल्य चुकाइरहेछु

यो प्रतेक क्षण !

यो प्रतेक क्षण !

यो प्रतेक क्षण !

 

ए ! देश , मलाईजस्तै

तिमीलाई पनि भिरिंगी लागेको छ !

 

टिप्पणी छोड्नुहोस्