मेरो सानो खरायो …!

6 जुलाई

जसरी हराउँछ अन्धकारमा सियो

तेसरी नै हामी

यो शहरमा हराएका छौँ

र हामीसँगै हराएको छ

अस्तित्वको धून !

यो शहरको यान्त्रिकताभित्र

हामी यस्तरी हराएका छौँ

कि अब

सग्लो र जीवित फर्किनु

हामीसँग कुनै अलौकिकता छैन,

अथवा

यो भयानक जंगलबाट निस्किनु

हामीसँग कुनै उज्यालो छैन

अथवा

यो महासागरबाट पार पाउनु

हामीसँग कुनै नाउ छैन !

जसरी हराउँछ बर्मुडामा जहाज

तेसरी नै हामी

यो शहरमा हराएका छौँ

र हामीसँगै हराएको छ

जिजीविषाको गीत !

यो शहरमा हामीले

सुरुंग खनेर

यौटा पहाडलाई अर्को पहाडसँग जोड्यौं

पुल तानेर

यौटा टापुलाई अर्को टापुसँग जोड्यौं

विमानस्थल बिछ्याएर

यौटा देशलाई अर्को देशसँग जोड्यौं,

तर यो शहरले

कहिले जोड्न सकेन

चर्किएका हाम्रा मनहरू !

जसरी हराउँछ कुहिरोमा काग

तेसरी नै हामी

यो शहरमा हराएका छौँ

र हामीसँगै हराएको छ

मुक्तिको रंग !

यो शहरलाई हामीले

खुन र पसिना दियौं /

यो शहरले हामीलाई

दिक्दारी र नपुंशकता दियो,

यो शहरलाई हामीले

हाम्रो जीवनको

सप्पैभन्दा उर्वर समय दियौं /

यो शहरले हामीलाई

‘युज एण्ड थ्रो’को

सप्पैभन्दा खराब सिद्धान्त दियो !

जसरी हराउँछ ब्ल्याक-होलमा सबैथोक

तेसरी नै हामी

यो शहरमा हराएका छौँ

र हामीसँगै हराएको छ

जीवनको गणित !

 

चित्र

हाङयुग अज्ञात

4 जुलाई

हाङयुग अज्ञात

म बिर्सिन सक्दिनँ

4 जुलाई

मलाई थाहा छ

मेरा दुर्वचनहरूले तिमीलाई

कत्ति पोलेको छ ?

 

त्यो आगो र एसिडको पोलाई

खै ! के हो र ?

मेरा अपशब्दहरूले तिमीलाई

यत्ति पोलेछ

कि मैले मेरो फेसबुकको स्टाटस्-बाट

तिमीलाई पिरोल्ने थोकहरू डिलिट गर्दा पनि

तिम्रो मन-मष्तिस्कबाट डिलिट भएन छ

मेरा सस्ता र अलोकप्रिय शब्द-सञ्जाल !

 

हो-

तेसरी नै

तिम्रो इतिहासले

विक्रम सम्वत् १८३१ डिलिट गर्दैमा

कहाँ बिर्सिन्छु म

मेरो मन-मष्तिस्कमा लागेको छाप ?

 

म कहाँ बिर्सिन्छु

देउमाईको किनार ?

म कहाँ बिर्सिन्छु

छिन्ताङको रातो माटो ?

 

म कहाँ बिर्सिन्छु

रामप्रसाद राई ?

म कहाँ बिर्सिन्छु

खारा ?

 

म कहाँ बिर्सिन्छु

पब्लिक बस ?

म कहाँ बिर्सिन्छु

राजकुमार आङदेम्बे ?

 

हो, साथी

म कहिले बिर्सिन सक्दिनँ

यो देशका शासकहरूले

मेरो मन-मष्तिस्कमा

ल्याम्-ल्याम् हानेको तिलंगा छाप

 

म बिर्सिन सक्दिनँ

तिम्रो इतिहासले डिलिट गरेको मेरो इतिहास !

 

जसरी यो बेला

तिम्रो नैतिक, सु-सभ्य र शालीन मनले

बिर्सिन सकेको छैन

मेरो ‘जाँठा र मुजी’लाई !

 

आऊ सामुहिक आत्महत्या गरौँ (भाग-२)

3 जुलाई

हिनताबोधको ठर्रा सुँघेर

प्रतेक साँझ मर्नु भन्दा

राष्ट्रको उन्नतिको कामना गर्दै

एक्लै कुनै कुनामा होइन

खुलामन्चमा एकजुट भएर

सिघ्र संविधान बनोस् भन्ने

परम् प्रार्थना गर्दै

यो भट्टी पसल जस्तो देशमा

आऊ सामुहिक आत्महत्या गरौँ !

कति थाम्नु धैर्यताको बाँध ?

कति थुम्थुम्याउनु अराजक चित्त ?

कति रोक्नु मनको आक्रोश ?

आउँदा- आउँदै

बीच बाटोबाट

खै ! कसले अपहरण गर्छ शान्ति ?

खै ! कसले चोर्छ कलम र कापी ?

र, लेखिनुबाट वन्चित हुन्छ संविधान …!

छट्टु शासकहरूको विरुद्धमा

टट्टू नेताहरूको विरुद्धमा

दलाल पार्टीहरूको विरुद्धमा

प्रतिबद्धताको मुट्ठी कसेर

संविधानसभाको पटांगिनीमा

आऊ सामुहिक आत्महत्या गरौँ !

कति पिउनु हलाहल ?

कति गिंड़नु दक्षप्रजापतिको टाउको ?

कति हिंड्नु तमोरको किनारै-किनार ?

हरेक युगमा

हामीले नै औंला चढाउनु पर्ने ?

हरेक युगमा

हामीले नै पाताल भासिनु पर्ने ?

हरेक युगमा

हाम्रो उत्सर्गले

पानीजहाज खिपेर

माचिन्डेहरू कोलम्बस हुने ?

कि पशुपतिको मन्दिरमा

बज्दा-बज्दैका मङ्गल धूनहरू रोकियून्

अनि स्तब्ध भएर

ब्रम्हाले साँच्चैको आँसु झारून्

आऊ सामुहिक आत्महत्या गरौँ !

संविधान लेख्न नसक्ने

कायर टपरेहरूको विरुद्धमा

आऊ सामुहिक आत्महत्या गरौँ !

किन काँप्छन्

संविधान लेख्ने हातहरू ?

किन ढल्छन् सरकार सालिन्दा ?

किन धाउँछन् दिल्ली बारम्बार ?

किन फेर्छन् बोली धोतीजस्तो ?

कि ब्रम्हाण्डमा

फेरि कहिले घाम नउदाओस्

फेरि कहिले जून नछाओस्

हामी नागरिकहरू सप्पै मरूंग 

र कंकालहरूमा जारी गरून्

नयाँ नेपालको नयाँ संविधान

आऊ सामुहिक आत्महत्या गरौँ !

आऊ सामुहिक आत्महत्या गरौँ !

 

तिमीलाई पनि भिरिंगी लागेको छ

3 जुलाई

यो प्रतेक क्षण

यस्तरी बित्नुको औचित्य र अर्थ

खोज्दछु

जस्तरी भिरिंगी लागेको कुकुरले खोज्दछ

गल्ली-गल्ली र चोक-चोक

ऊ हुनुको स्वतन्त्रता-

 

काठमाण्डूजस्तो खप्परभित्र

आजीवन निको नहुने

अशान्ति र अराजकताको ‘ब्रेन-ट्युमर’ खाँदेर

यो क्षण यस्तरी बाँच्नुसित

कि खोजिरहेछु आफूभित्र इन्द्रेणी देश ?

 

सात समुन्द्रपारिबाट

हुण्डीमा पठाएको शान्तिको कामना

सुख र समृद्धिको कामना

खै ! के सारांश निस्क्यो ?

 

कि प्रतेक बिहान

मजस्तै ह्यांगओभरमा उठ्दछ देश

र पार्सलमा आएको चुरोट तान्छ

बुंग-बुंगती

साँघुरो कोठा विदेशी धूवाँ- उफ् रेन्टा !

 

खोक्दछ छाती चर्कुन्जेल

खोक्दछ लोकतन्त्रको लहरे खोकी

तल माथिका छिमेकीहरूले कान ठाडो पारुन्जेल,

 

मजस्तै ग्याँसटिकको रोगी

आन्द्रा पल्टिनेगरी आँखा च्यातिनेगरी

राल सिंगान हुँदै ‘वाक् वाक्’ गर्दछ

टोल थर्किनेगरी

र जुँगामा पिंग खेलिरहेको सिंगानलाई

देब्रे हातले टिपेर झट्कार्छ भुँइमा

ल्याम्मै छोराको निधारमा लाग्दछ- उफ् लेन्टा !

 

हो त मेरो देशजस्तै

म पनि यस्तरी नै सहजताका साथ

प्रतेक बिहान ह्यांगओभरमा उठ्दछु

फरक के मात्रै हो भने

अनि ऊ खबरकागज र ‘जस्मिन टी’ समातेर

सोफामा बस्दछ

म झोला बोकेर कारखानातिर दौडिन्छु !

 

यो प्रतेक क्षण यौटा मृत्यु हो

यो प्रतेक क्षण यौटा त्रास हो

यो प्रतेक क्षण यौटा अगति हो

यो प्रतेक क्षण यौटा असंगति हो !

 

किन थाहा छ ?

थाहा छैन भने 

हेर्नुस् समकालीन कविताहरू

उत्तरहरू डङ्गुर छन्

सोध्नुस् कविहरूलाई !

 

खसीको ह्याकुला, कालो दाल

र धनियाँको अचारसित

बासमती चामलको भात हसुरेर

मेरो देश नयाँ बानेश्वरतिर

मोटरमा सरर गैरहेको बेला

म प्लाष्टिकमा प्याक गरेको भातले

पेट ढाडिएर

यो गज्यांग-गुजुंग मेट्रो सहरमा

ट्वाइलेट खोजिरहेको हुन्छु !

 

यति लामो समयसम्म

नाथे यौटा संविधान लेखिन नसक्ने ठाउँभन्दा

विदेशको यो ‘ट्वाइलेट’ अच्छा हाउ !

लेंड पसारेर सन्च भए’छि

यस्तो सोचाइ आउँछ

कि पेट दुखेको बेला त

झन् येस्तो पो लाग्दछ-

हामीले हगेको प्रवासमा

पुगे हुन्थ्यो तिनीहरूको टेबुलमा

कुनै सम्झौता र सहमतिपछि

जो खान्छन् समोशा प्लेटमा

पुगे हुन्थ्यो तिहींनेर !

 

मेरो देश यतिबेला

नयाँ बानेश्वरको यमहिमभित्र छ

जहाँ लिम्बुवानको आवाजलाई

एक मुठा जुँगाले छेकेर

नयाँ नेपालको पुरानो सपना देखाइरहेछ

देशलाई त्यो बेजिंग र दिल्ली प्यारो छ

तर लिम्बुवान आफ्नै शरीरको भाग बेमतलब छ

ए ! संविधान सभाको पेटिकोट ला’को मु:जी देश

जीउमा ‘आरडिएक्स’ बाँधेर छिरुम म

तिम्रो इन्द्र-सभामा ??

 

यो प्रतेक क्षण

म मेरो देशजस्तै आतंककारी हुँदैछु

यो प्रतेक क्षण

म मेरो देशजस्तै धन्दुकारी हुँदैछु

यो प्रतेक क्षण

म मेरो देशजस्तै फटाहा र जाली हुँदैछु

यो प्रतेक क्षण

म मेरो देशजस्तै किचकिचे र असन्तोकी हुँदैछु

’cause यो प्रवासमा

नेपाली भएर बाँच्नुको मूल्य चुकाइरहेछु

यो प्रतेक क्षण !

यो प्रतेक क्षण !

यो प्रतेक क्षण !

 

ए ! देश , मलाईजस्तै

तिमीलाई पनि भिरिंगी लागेको छ !

 

म हङकङ भइसकेछु

3 जुलाई

सातिन र हेप्पीभ्यालीमा दौडिने

 

बाजीको घोडाजस्तै

 

अथवा जमिनमुनि दौडिने

 

रसआवरको रेलजस्तै

 

यो एसियाको विश्वसहरमा

 

श्रम बेच्न दौडेको पनि

 

थाहै नपाई

 

एक दशक भएछ

 

र हिजो बेलुकी

 

जब माया सेलुनमा

 

ऐना अगाडि उभिएँ

 

तब देखेँ

 

फुल्न थालेका रहेछन्

 

कनसिरीमा कपालफूलहरू

 

ओहो ! देश फर्किन्छु भन्दाभन्दै

 

म त हङकङ भइसकेछु,

 

 

ताइमोशन र मंकीहिलको जङ्गलमा

 

चासोक, साकेवा र ल्होसार मान्दामान्दै

 

बिबिक्यूमा पोलिपठाइएछ उमेरको पखेटा

 

इन्डियाकल्ब र कङ्गनको बफेमा

 

पुलाउ र पर्ककरी पस्किादापस्किदै

 

कतिबेला रित्तो पारिएछ मस्तिष्कको प्लेट

 

कतिबेला रेड वाइनले कुल्ला गरिएछ

 

आदर्शको फट्फटाइरहने जिब्रो

 

कतिबेला बियरले पखालिएछ

 

देशको तस्बीरलाई मनको कुनाबाट र

 

कतिबेला टोस्ट गरिपठाइएछ कायाकल्पको नाममा

 

आफ्नो सर्वहारा पृष्ठभूमिको गरूङ्गो मुट्ठी !

 

ओ, मेरा साथीहरू हो,

 

 

युनलङ थियटर र चुनवान टाउनहलमा होस्

 

अथवा कम्युनिटी हल यायातेइमा होस्

 

थाहै नपाई मैले बिर्सेछु

 

मेरो रगत, पसिना र आँसु ! अथवा,

 

नाचघरमा कम्मर मर्काउँदामर्काउँदै

 

कतिबेला भुँडीले आकास ताक्न थालेछ

 

र आँखाका चेपबाट

 

रेखाहरू तन्किन थालेछन्

 

मार्कसिक्सको सपनाबाट ब्यूँझेर

 

हिजो बेलुकी

 

जब उभिएँ माया सेलुनमा

 

तब देखेँ घामले डढेको

 

आफ्नो दिक्कलाग्दो अनुहार

 

ओहो ! देश फर्किन्छु भन्दाभन्दै

 

म त हङकङ भइसकेछु,

 

 

ओ, मेरो देश

 

म हङकङ भइसकेछु

 

तेसैले मेरो काखीमा हिजोआज

 

डुङ्डुङ्ती समुद्र गन्हाउन थालेको छ

 

मेरो नङमा गन्हाउन थालेको छ

 

लापसाप

 

मेरो हातमा गन्हाउन थालेको छ

 

इनामेल

 

मेरो ढाडमा गन्हाउन थालेको छ

 

बासीभात

 

मेरो खुट्टामा गन्हाउन थालेको छ

 

बाह्रघण्टा

 

मेरो मुखमा गन्हाउन थालेको छ

 

तिउलेलम्बू

 

मेरो छातीमा गन्हाउन थालेको छ

 

नेपोइः

 

हो, म हङकङ भइसकेछु !

 

मेरो सिङ्गो शरीरमा

 

गन्हाउन थालेको छ आइडी,

 

तेसैले ओ मेरो देश

 

अब इमेल नगर तिमी

 

नपठाऊ तिम्रा दुःखहरू

 

यहाँ तिम्रो गोर्खा छोरा

 

यहाँ तिम्रो कवि छोरा

 

हङकङ भइसकेको छ

 

र तिमीले

 

लाहुरेको गफमा सुनेजस्तो

 

यो हङकङ साँच्चैमा सुन्दर

 

र सुखी छैन,

 

 

यहाँका अग्ला भवनहरूमा

 

धेरै होंचा विचारहरू बस्तछन्

 

यहाँका सफा सडकहरूमा

 

धेरै फोहरी नियतहरू हिँड्दछन्

 

तेसैले ओ मेरो देश

 

तिम्रो इमेलको जवाफमा

 

म सुखहरू पठाउन सक्दिनँ

 

म शान्तिहरू पठाउन सक्दिनँ

 

मात्र पठाउन सक्छु

 

अहङ्कार, इर्ष्या र जलनहरू !

 

हो, कति चाँडै

 

म हङकङ भइसकेछु

 

देश फर्किन्छु भन्दाभन्दै

 

देशको नामै बिर्सिसकेछु

 

म त हङकङ भइसकेछु

 

म त हङकङ भइसकेछु ।

 

 

तपाईंलाई

3 जुलाई

यो नुडल्सजस्तो खुज्मुजिएको

सहरका गल्लीहरूमा

तपाईंलाई सम्झनाले तानेर

जब खान्छु डकार्दै तीतो बियर

तब म अघि कतिखेर पुग्दो रै’छु

तपाईंले अलिकिती माया

र धेरै त घृणाले दलेको

क्याप्टेन कुकको अबोर्जिनल सहर !

 

ए नि लै,

हजार गहिरा दुक्खहरू

मुस्कानको धागोमा उनेर

तपाईं त प्रतेक दिनजस्तै

मसित र धेरैसित

मनोविज्ञानका भाइरसहरू मार्न

खित्काको इन्जेक्सन बाँड्नु हुन्छ

तेसो र त  तपाईं फ्लोरेन्स नर्सजस्तो

रातभरि लाल्टिन बालेर..

 

बरी लै…

मेरो हुन नसक्ने जीवनको प्रीत तपाईं !

ओपेरा हाउसजस्तो फक्रेको हृदयमाझ

यो काल्सवर्गको किंग साइज क्यानलाई

मिल्क्याउने ठाउँ पो होला कि नहोला?

 

ज्या होला !

तपाईंलाई लाज-घिन पचाएर

यौटा काम चाहिँ लगाउनु पर्यो

कि त्यो ‘वीस्’लाई भनिदिनुस

उसलाई भिक्टोरिया हार्बरको राजाले सम्झेको छ

सायद अर्को साल यो राजाले त्यो ‘वीस्’लाई

चिडियाघरबाट मुक्त गर्नेछ,

अर्को पनि खबर छ

कृपया अप्ठेरो नमानी सुनाइदिनुस

कि त्यो किंग क्रसको भिडभाडलाई

यता यो चुंगकिंगको हल्लाले ‘मिस’ गरेको छ

आ ! कस्तो तुच्छ काम अह्राए तपाईंलाई ?

 

कि हेर्नुस

म मातेको छैन है

अस्ति मातें भने अर्कै कुरा

यस बखत तपाईं जत्तिकै फ्रेस छु

र ग्रेट ओसन रोडको लंग ड्राइवमा

तपाईंसितै निस्किएको छु

बिचमा नोरा जोन्सलाई राखेर

पछाडि गरुंगा धातुहरूको ताल नापेर

‘ब्लु मुन’ देखिन्छ हगि बाटोमा ?

 

मेन्ली र बोनडाइ विचमा

नांगै सूर्य स्नान गर्ने भनेर

मेरा कल्पनाका चकचके बाँदरहरूले

मलाई हैरान बनाइसके

त्यहाँ तपाईंले यौटा धरान बनाइराख्नु होला

कि भने सिस्नु खोजिराख्नु होला

नत्र रातो मरुभूमिबाट

क्याक्टसको लौरो ठिक पारे पनि हुन्छ

बदमास मृगतृष्णाहरूलाई तह लगाउने

कि तपाईंसित अरु ओखती छ ?

 

खै ! यो तीतो बियरको सम्झना

तपाईंलाई ‘वाक्का ..वाक्का’ भैसक्यो कि

कस्सम हाउ…! 

अर्कोखेप गुलियो वाइन घिचेर

सम्झनाको हवाइजहाजमा पार्सल गरुँला

मेरो पसिनाको गन्ध

प्रिय ! डार्लिंग हार्बर ब्रिजलाई

तपाईंलाई..!

 

चित्र

हाङयुग अज्ञात

3 जुलाई

हाङयुग अज्ञात

मेरो जोकास्टा आमाको समर्थनमा

3 जुलाई

महावाणी
ओ ! मेरो जोकास्टा आमा
अब म तिमीसित बिहे गर्छु,

र टाइरासीयस बूढोको छाला काढेर

एकजोर जुत्ता सिलाउँछु !

-श्री ५ हाङयुग अज्ञात

ओ ! मेरो जोकास्टा आमा
जसरी नपुंशक समयको विरूद्घमा
कुनै बेला

भर्जिन मेरीले येशु ख्रिष्ट जन्माइन्

तेसरी नै तिमीले जन्माइसकेकी छौ

बिना सम्भोग

बिना वीर्य

यौटा निख्खर र जब्बर मान्छे !

हो, आमा

त्यो धुर्मुस

त्यो घामट

त्यो अराजक

मै हुँ,

आमा मै हुँ त्यो आतङ्कवादी

जो महिनै नपुगी

तिम्रो पाठेघर च्यातेर

यो संसारमा निस्केको छ-

त्यो पापी मै हुँ आमा

जसले तिमीलाई कोखमै हुँदा पनि

लात्ती र मुट्कीले हान्यो

र आफ्नो शरीरभरि बाँध्यो आरडीएक्स

र तेसले खोजिरहेछ यतिबेला

कुनै बेनजीर भुट्टोको जुलुस

मेरो जोकास्टा आमा

त्यो आत्मघाती मै हुँ !

तिमीले जन्माइसकेकी छौ

बिना वीर्यवान पुरूष

यौटा यस्तो कुपुत्र

जसले सधैँ मार्छ इन्दिरा गान्धी

थुन्छ आङसाङ सुकी

डाम्छ इमा गोल्डमेन

र पढाउँछ धर्मका पाठहरू

कि तिमी मेरोलागि

मेरो करङबाट बनाइएकी

मेरो दासी हौ

म तिम्रो मालिक हुँ-

ओ जोकास्टा आमा

तिमीले छोरा जन्माइसक्यौ

र त

यौटा मालिक जन्माइसक्यौ

अब तिमीलाई उसले खुब लुट्नेछ,

तिम्रो कान टोक्नेछ

तिम्रो स्तन टोक्नेछ

तिम्रो फिला टोक्नेछ

तिम्रो मस्तिष्क टोक्नेछ

र भुक्नेछ सन्तुष्टिमा पागल कुकुर

तिमीले त्यो कुकुरमा

अनगिन्ती बिम्वहरू देख्ने छौ,

तर तुरून्त बिर्सिने छौ

हुँडार, ब्वाँसो र फ्याउराहरूको तस्बीर

तुरून्त बिर्सिने छौ सम्भोगको नयाँ परिभाषा

ओ मेरो जोकास्टा आमा

तिमीले त्यो भेँडा गोठालोको अनुहारमा पनि

मलाई देख्नेछौ र फत्फताउने छौ-

वास्तवमा

यौटा फटाहा प्लेबाइ,

डाँका

या अराजक गुण्डा जन्माउनु

र यौटा साँच्चैको गतिछाडा बन्नु

कत्ति गाह्रो हुन्छ ?

हो, मेरो आमा

मैले नै बाँधे

गान्धारीको आँखामा पट्टी

मैले नै तानेँ

द्रौपदीको पेटीकोट

मैले नै लिएँ

सीताको अग्नीपरिक्षा

मैले नै जलाएँ

सतीहरूको शरीर

ओ मेरो जोकास्टा आमा

तिमीले धेरै जन्मायौ

महामूर्ख पुरूषहरू

खोपडीहरूको दरबारमा बस्ने

इदिअमीन जन्मायौ

मृत्युभूमिमा रगतले नुहाउने

पोलपोट जन्मायौ

नश्लवादले बहुलाएर

यहूदीहरूको यमराज बन्ने

हिटलर जन्मायौ,

आमा

त्यो बुश

त्यो सद्घाम

त्यो लादेन

मै हुँ

जसलाई तिमीले जन्माइसेकी छौ

प्रतेक समयलाई गाली गर्दै

तिमीले संसारकै सप्पैभन्दा ठूलो हत्यारो

जन्माइसकेकी छौ

सप्पैभन्दा खतरनाक अपराधी

जन्माइसकेकी छौ

कि मैले तिम्रो स्तन काटेँ

र रगत बेचेँ व्यापारीहरूलाई

कि मैले तिम्रो काख मुतेँ

र निमन्त्रण गरेँ दलालहरूलाई,

ओ मेरो जोकास्टा आमा

मलाई भालाले घोंची-घोंची मार

या झुन्ड्याऊ सरेआम खरीको बोटमा

र झिङ्गालाई भन्किन देऊ

र गिद्घलाई कुर्न देऊ !

तर…तर

ओ मेरो जोकाष्टा आमा

एकचोटि, फगत एकचोटि

तिमीले तिमी आफै जन्मिदेऊ

माचिन्डे !

धेरै भो यो संसारमा

डाँगोहरूको हस्तमैथुन ।

 

नीलो गीत

3 जुलाई

टाइफून ८ -को संकेत पाएर

सेल्टरमा फर्किएका डुंगाहरू

आज समुन्द्रबाट

…जीवनका माछाहरू नबोकी आए,

 

रित्तो रित्तो मेरो मनजस्तै भएर आए

सेंगजेन सहरमा किनेको

५ डलरको खरो चुरोट तान्दै

‘माफान’ भएर आए

आज आदिबासीका पुराना डुंगाहरू

पानीमा बाटो खन्दै आए

नीलो गीत गाउँदै आए !

 

जीवनको नियमिततालाई

मौसमले धोका दिएपछि

डुंगाहरू यसरी नै रित्तो फर्किन्छन्

र गाउँछन् नीलो गीत !

अनि ..

यौटा चिसो सु-माइ’लाई सोया ससमा खेलाएर

चपिस्टिकले ठुङ्दै प्लास्टिकको टपरी

हिजोका माछाहरूको सङ्गीत भर्दै बस्छन्

नोष्टाल्जिक रंगीचंगी डुंगाहरू !

 

अरु बाटाहरू कहाँ थिए र ?

-समुन्द्रमा जानु

-माछा मार्नु

-र सहरको सानो बजारमा ल्याएर बेच्नु

प्रतेक दिन

यही बाटोमा मात्रै

ओहोरदोहोर गरेको हो

तर आज

टाइफून ८ -को संकेतले

यो बाटो पनि बन्द गरेको छ

यी साना साना श्रमिक डुंगाहरू

नेपाल बन्दमा फसेका मजदुरहरू जस्तै भएका छन्

याच्-लाई जस्तो अनेक बाटाहरू

कहाँ थिए र यी डुंगाहरूलाई

जस्तो कि आफ्नो आङ्मा

काराओकेको या डिस्कोका रात्रि गुलुपहरू

झिलिक्-मिलिक् झिम्क्याओस्

र अन्धा दिन बेस्सरी भोगोस् !

 

हो,

तिम्रो नीलो गीत सुनेर

समुन्द्रबाट

भोलिको घाम फेरि उदाउँछ

तेसो र प्रिय डुंगाहरू

आऊ मसित केहीबेर बतासको तास खेल

या सयमको मा:जङ खेल

’cause आज त समुन्द्र बन्द छ

र तिमीहरूको निधारमा

मौसमले टाँसिदिएको छ

टाइफून ८ -को बेमौसमी संकेत !

 

अथवा आऊ मसित केहीबेर सोच

कि मौसमले हामीसित

किन झेली खेल खेल्यो ?

 

टाइफून ८ -को संकेत पाएर

सेल्टरमा फर्किएका डुंगाहरू

आज समुन्द्रबाट

जीवनका माछाहरू नबोकी आए

नीलो गीत गाउँदै आए

नीलो गीत गाउँदै आए…. !!